२२ वर्ष बितिसक्यो | बुबाले छोडेर जानु भएको त्यो दिन अझै पनि छर्लंगै याद छ। र आज म यहाँ बसेर उनको बारेमा सोचिरहेको छु। कहिलेकाहीँ जब म एक्लै हुन्छु र उहाँको बारेमा सोच्दछु, डर लाग्छ कि म उहाँलाई बिस्तारै बिर्संदै त छैन। सम्झन खोज्छु, उहाँको बोली ठम्याउन खोज्छु। बुबाको बोल्दा खेरिको आवाज स्मरण गर्न यो मस्तिष्कलाई जोड दिन्छु। अहँ सक्दिन! अनि लाग्छ, अब कहिल्यै नफर्कने गरी उहाँको त्यो आवाज मभित्रै कतै बिलाई सक्यो। यी भावनाहरूलाई व्यक्त गर्न मसँग शब्दहरू छैनन्। फेरी अचम्म लाग्छ — यो के चिज हो जसलाई हामी हाम्रो मन भन्छौ।
मेरा बुबा मेरो पहिलो गुरु पनि हुनुहुन्छ। निकै कम शब्दमै उहाँले मलाई धेरै कुरा सिकाउनुभयो। आज जीवनमा म केही गुणी बन्न सकेको छु र केही हासिल गर्न सकेको छु भने, यसको सम्पूर्ण श्रेय मेरो बुबालाई नै जान्छ।
अहिले आएर बुबा बित्नुभएको त्यो दिन र त्यो क्षणलाई फर्केर हेर्छु। बुबालाई अन्तिम पटक श्रद्धाञ्जली दिन आएका मानिसहरूको भिडमा म त्यही खडा थिए। शरीर त्यही भए पनि मन र मस्तिष्क भने बारम्बार वर्तमानबाट टाढा, अन्तै कतै पुगेको थियो। सबै जनाको बिचमा भएर पनि त्यहाँ थिइन म। वैकल्पिक चेतनाको कुनै अर्कै अवस्थामा पुगे झैँ लागेको त्यो आभास, पछिसम्म पनि मेरो मनमा प्रश्नहरु बनी सलबलाई रहे— “त्यो कस्तो अनौठो आभास थियो ?”
अस्पतालबाट बुबाको मृत शरीर आइपुगे पछि उहाँलाई मैलै निकै नियालेर हेरेँ। मलाई याद भएसम्म दिमागमा एउटै सोच मात्र आएको थियो — “उहाँ मेरो बुबा होइन।” मैले आफ्नो जीवनभरि बुबा भनेर बोलाउने गरेको व्यक्तिले त मलाई एक्लो पारेर गइसक्नुभएको थियो। उहाँ त्यस चिसो, भावहीन र असहाय लासमा कतै पनि हुनुहुँदैनथ्यो। अनि म केबल यस प्रश्नसँग बाकिँ थिए — “बुबा, तपाईँ कहाँ हुनुहुन्छ?”
त्यस रात, बुबाको निर्जीव शरीर जलाइयो। खोला किनारमा बसेर म त्यो दृश्यलाई हेरिरहे, उहाँको शरीर बिस्तारै खरानीमा बिलीन भइरहेको थियो। पोलिएका काठका चोइटाहरू अशान्त रूपले अचानक पड्किन्थे, चर्किन्थे र त्यसबाट निस्किएका झिल्काले रातको अन्धकारलाई प्रकाशित गराउँथे। छेवैमा नदी भने शान्त भएर आफ्नै बेगमा बगिरहेको थियो। अन्तिम संस्कारका लागी आएका ती मानिसका भिडमध्ये अब त्यहाँ केवल केही आफन्त र मित्रजनहरू मात्र बाकिँ थिए । अनि खोलाको पल्लो किनारमा भने मन भक्कानिएर आउने धुन कोही मुरलीमा बजाइरहेको थियो। आफ्नो अभिभावक, आफ्नो बुबा गुमाएको त्यस क्षणमा मेरै मनको बह पोखेझैँ गरी बजिरहेको त्यो मुरलीको धुनसँगै म पनि बगिरहेको थिएँ। रातको त्यस कालमा कसले बजाएको होला त्यो धुन? आज पनि मेरो स्मृतिमा कहिँ गाडिएर बसेको छ त्यो धुन।
हुन पनि हामी माटोबाटै आएका, एकदिन माटोमै समर्पण हुनै पर्छ। ढिलो-चाढोँ भन्नु मात्रै हो, सबैले पालै-पालो, यसरी नै छोडेर जानै पर्छ। त्यसैले, मृत्युको बारेमा चिन्तन-मनन गर्नको लागी यो ठाउँ उपयुक्त छ। यहाँ कठ्याङ्ग्रिँदो अन्धकार छ, तर मन भने शान्त र स्पष्ट छ। शिव भगवान यहीँ कतै छन्। यदि साँचो जिज्ञासा छ भने, उहाँले तुरियाको बारेमा सिकाउनुहुनेछ। यहीँ कृष्णले मन्द मुस्कुराउदैँ सोध्नुहुनेछ— “तिमीले आफ्नो साथमा के लिएर आएका थियौ, जुन तिमीले गुमायौ?” अनि यहीँ बुद्धले अनित्य र अनात्मको बारेमा सिकाउनु हुनेछ।
वास्तविकताको भान भएपछि नै मानिसले त्याग गर्न सक्दछ भनेर बुद्धले भनेका छन्। त्यसो त, वास्तविकता के हो त? वास्तविकता त्यही अनित्य हो - अर्थात् हरेक प्राणीहरूको अस्तित्वको प्रकृति, जुन पल-पल परिवर्तित हुँदैछ! मानिसले आफूलाई सदाबहार रहने खोक्रो कल्पना गर्दछ र त्यसैमा अल्झिएर मानिसको जीवन बितिरहेको छ। तर शायद यो त्यही ठाउँ हो, जहाँ उसको हावाको महल चकनाचुर हुन्छ र उसले वास्तविक सत्यको झ-झल्को पाउँछ।
सोच्नुस् न! अनि अझैँ गहिरिएर चिन्तन पनि गर्नुहोस्। मृत्यु र विनाशको बारेमा। अनि बल्ल कुनै दिन सायद हामी पनि यस अजर-अमरताको भ्रमलाई पार गर्न सकौँला। मृत्युहीन अवस्थामा पुग्न मृत्युकै ध्यान गर्नु पर्ला, अन्यथा यही चक्र घुमी रहनेछ। यसै सन्दर्भमा कबीरको यो सुन्दर कविता याद आयो:
“माया मरी न मन मरा, मर‑मर गए शरीर।
आशा तृष्णा न मरी, कह गए दास कबीर।”
दाहसंस्कार पछि म घर फर्किए। घरमा चकमन्न शान्त र निस्पट्ट अन्धकार छाएको थियो। मैले आमालाई हेरेको याद छ, उदास अनि गम्भीर सोचमा हराउनुभएकी— मेरी आमा।
त्यस रात, जब मैले अब सधैँका लागि गुमाएको मेरो बुबाको बारेमा सोच्ने समय पाएँ, अनि आँखाबाट थामिन नसकेर आशुका वेग बरर झर्न थाले। आखिर के कारण मानिसको आँखामा आशु आउने गर्छ? ग्लानिले? आफूले त सधैँ सही मात्र गरिरहेको छु झैँ लाग्दछ तर मुटुको कापमा, भित्री कुनै कुनामा आत्मग्लानि लुकेर बसेको हुँदो रहेछ। ठम्याउन मात्रै सकिँदैन। बिस्तारै, थाहै नपाई हाम्रै संस्कारले ती पश्चतापहरूलाई पैँचो तिराउन सही समय पर्खेर बसिरहेका हुन्छन्। म र मेरो आत्मग्लानिको लागी पश्चतापको दिन शायद त्यही थियो। भित्रैदेखि चर्को आवाजमा म माथि प्रश्न उठेको थियो: “के तिमीले आफ्नो बुबाको लागी पर्याप्त गर्यौ? साथ र सहयोग चाहिएको बेलामा, के तिमी उपस्थित थियौ? छोरा भएर बुबाप्रतिको आफ्नो कर्तव्य, के त्यो निभायौ?!”
~~~
बुबासँगको मेरो सबैभन्दा पुरानो सम्झना भनेकै म सायद ५-६ वर्ष हुँदाको हो। उहाँको हात समातेर डाक्टरकहाँ खोप लगाउन गएको थिए। सुइँ लगाएपछि चकलेट पाइन्छ भन्ने प्रलोभनमा भुल्याइएको मलाई अझै याद छ।
केटाकेटी अवस्थामै मैले निकै गरिबी देखेको थिए। यस्ता दिनहरू पनि आउँथे जब पुरै परिवारलाई नै खानेकुरा समेत किन्ने पैसा हुँदैनथ्यो। युगौँ पुरानो हाम्रो बुढो घरको छाना आलै-पालो कहिले यो छेउ त कहिले त्यो छेउ गर्दै चुहिने गर्थ्यो। एकातिर टाल्यो अर्कोपट्टि टपटप गर्न ठिक्क परिसकेको हुन्थ्यो; अनि फेरि त्यही क्रम दोहोरिन्थ्यो। बर्खा याम त सजाय सरह लाग्थ्यो। आकाशमा कालो बादल देख्नासाथ मनमा पनि कालो मडारिएर आउँथ्यो - “झरी नै पर्न आँट्यो। सायद यसपालि छानो नै खस्छ।” नभन्दै एक दिन त्यसै भयो। शिथिल र कमजोर त्यो छानो झन्डै मैमाथि खसेको थियो। धन्न टाउकोमै नबजारिएर एकाछेउतिर खस्यो र आज यो लेख्न जीवित छु। त्यति भएपछि मात्र मामाको सहयोगमा घरले टिनको छाना देख्न पायो। अनि बल्ल सासमा सास आएझैँ भयो— हामी सबै जनालाई।
किताबी दुनियाँमा मग्न हुने बानी मलाई बुबाले नै बसाली दिनुभयो। पहिले पनि भने झैँ, हामी खासै धनले परिपूर्ण त थिएनौ। “गरिबी” शायद उचित शब्द होला। त्यसका बाबजुद, उहाँले कहिल्यै पनि किताबको लागी “नाँई” भनेको मलाई याद छैन। जसोतसो पैसा जुटेकै हुन्थ्यो। केबल एक पटक मात्र उहाँले मलाई “केही दिन पर्खन सक्छौँ?” भन्नुभएको याद छ।
रुसी साहित्यले मलाई विशेष मुग्ध बनाउँथ्यो— अझ भन्नुपर्दा दोस्तोयभ्स्की, गोगोल, र गोर्कीका लेखन मेरा प्रिय थिए। यिनकै कृतिहरु भित्र मेरो अर्को एक संसार थियो। रास्कोल्निकोभ र कारामजोभ जस्ता पात्रहरू, अनि नाक र ओभरकोट जस्ता कथाहरू भित्र म हराउने गर्थे। हिन्दी, अङ्ग्रेजी होस् या नेपाली— यिनका रचनाहरू मेलै सबै पढेँ, कहिलेकाहीँ त एउटै किताब विभिन्न भाषामा पनि पटक-पटक पढेँ।
उमेरसँगै हुर्कँदै जाँदा घरको त्यो दरिद्र आर्थिक स्थिति, र अभावै अभावमा चलिरहेको जीवन को बारेमा सोच्न थाले। अनि आफ्नो भविष्यको बारेमा पनि सोच्न थाले। जति किताब पढेँ पनि त्यसले पैसाको कमी पुरा गर्दैन थियो। किताब हेर्न छोडे सायद। त्यस्तै कुनै दिन बुबाले सरलताका साथ केबल यति भन्नु भयो, “आज भोलि हातमा किताब देख्दिन नि!” अब नियालेर हेर्ने हो भने, यो न त कुनै आदेश थियो, न त उत्तर खोजिएको कुनै प्रश्न नै! तर मैले मेसो पाइसकेको थिए—पढ्न र सिक्न कहिल्यै नछोड्नु अर्थ्याउने ती शब्दहरूआज पनि मलाई किताबसँगको सम्बन्ध कायम राख्न याद दिलाइ रहन्छन्।
~~~
भारतको लखनउमा पढ्न जाँदा बखतको एक घटना उहाँको लागी जीवन परिवर्तक क्षण नै बन्न पुग्यो। त्यहाँ उहाँले एक दरिद्र व्यक्तिले कुडाँदानमा खानेकुरा खोजिरहेको दृश्य देख्नुभएछ। त्यो दयनीय दृश्यले उहाँलाई याचकतामा बाँचेकाहरूको पीडा र दुर्दशाको बारेमा सोच्न बाध्य बनायो। जहाँ केही मानिस ऐस र आराममा हाइसन्चो मनाइरहेका हुन्छन्, त्यही अर्को वर्गको भने एक छाक पछि अर्को छाकोको टुङ्गो हुँदैन। त्यसपछि नै उहाँमा समाजवादी बन्ने ऊर्जा जागेको उहाँले आफ्ना लेख र नोटहरूमा उल्लेख गर्नुभएको छ।
समानता, न्याय, र भ्रातृत्वका विचारहरू उहाँको हरेक भाषणका आधारभूत विषय हुन्थे। उहाँ सुरुमा आर्य समाज र महात्मा गान्धीबाट प्रेरित हुनुहुन्थ्यो। गान्धीजी - जसको यि प्रसिद्ध शब्दहरू आज पनि उतिनै समयसापेक्ष छन्:
“संसारमा सबैको आवश्यकताका लागि पर्याप्त छ, तर सबैको लोभका लागि छैन।”
हाम्रो देश नेपाल र देशका गरिबहरुको बारेमा उहाँ हृदयदेखि नै चिन्ता गर्नुहुन्थ्यो। नेपालप्रति पनि उहाँको यही नै सपना थियो—नेपाल एउटा यस्तो उन्नत राज्य बनोस् जहाँ गरिबी नहोस, सबलाई भर पेट खान पुगोस्, र सबैले शिर उठाएर आत्म-सम्मानका साथ बाँच्न सकुन्।
प्रायः उहाँ मलाई एउटा कुरा सम्झाइराख्नु हुन्थ्यो, “तिमी जतिसुकै धनाढ्य भए पनि, जबसम्म तिम्रो देश गरिब छ, तबसम्म अरू देशका मानिसले तिमीलाई कहिल्यै पनि सही अर्थमा सम्मान दिने छैनन्।" उहाँको यो वाणी व्यक्तिवादी र स्वार्थी प्रवृत्तिहरूबाट माथि उठेर देशको लागि पनि केही गर्नको लागि एउटा निर्देशन थियो।
“हाम्रो देश कत्ति धनी छ, यहाँका मानिसले दुःख पाउनुपर्ने कुनै कारण नै छैन। यहाँ सबैका लागि पर्याप्त हुनै पर्छ।” उहाँ भन्ने गर्नुहुन्थ्यो।
पछि-पछि मैले पनि यी शब्दहरूमा गहन विचार गरेको छु। देश र विश्वकै अर्थतन्त्र नियन्त्रण गर्ने गन्तीका केहि अरबपति हुनुको के अर्थ? बरु म हरेक मानिस करोडपति भएको हेर्न चाहन्छु — जहाँ समाजका हरेक व्यक्तिमा धन र सम्पत्तिको विभाजन धेरै थोरै समान रुपमा भएको होस्। अहिले म त्यो गरिब बालक त होइन। तर पनि समाजवादका यी विचारहरू मेरा मन र मस्कितका कणहरूमा खेलिरहन्छन्।
मानिसको लोभको त कहाँ अन्त्य छ र। तर, एउटा समाजको आधार भनेको न्यायपूर्ण हुनुपर्ने। अनि यो न्याय र समानता हामी मानिसको लागि मात्र होइन कि यो पृथ्वी मा वास गर्ने सबै प्राणी र प्रकृतिको लागि पनि लागु हुनु पर्ने होइन र? यहाँ जति हाम्रो अधिकार छ त्यति नै अरु सबै प्राणी - मानिस, जनावर, चराचुरुङ्गी, कीरा-फट्याङ्ग्रा, नदीनाला, बोटबिरुवा आदी-इत्यादि - सबैको हुनु पर्ने जस्तो लाग्छ। कुनै पनि मानिस न त पशु वा प्रकृतिभन्दा श्रेष्ठ छ, न त ती अस्तित्वलाई नष्ट गर्ने उसँग अधिकार नै छ। हामी सबैको रहन-सहनको लागी निर्धारित ठाउँहरू छन् र त्यसैमा हामी सबैलाई सह-अस्तित्वको अधिकार पनि हुनुपर्दछ।
न्यायपूर्ण समाज र समानताको कुरा गर्दा, जब मैले तत्कालीन सोभियत सङ्घमा अध्ययन गर्नका निम्ति छात्रवृत्ति हासिल गरे र त्यहाँ को जीवन देखे, मेरो समाजवादप्रतिको दृष्टिकोण अलि बदलिँदै गयो। बुबासँग पनि समाजवादको विचारधारामा मतभेद हुन थालेँ। आदर्श समाजका मेरा कल्पनाहरू र यथार्थ खोलाका दुई किनार भइदिए— कहिल्यै भेट नहुने।
हो! उनीहरूले विज्ञान र प्रविधिमामा त बलियो जग गाडिसकेका थिए। मानिसहरूका जीविकोपार्जनका आधारभूत आवश्यकताहरू त पूरा भएका थिए। तर कहिले काँही पसलहरुमा केहि सामानहरुको लागि लामो लाइनहरू पनि देख्थे । किनमेलका लागी किराना पसलहरू गइन्थ्यो, तर पसलहरू कहिले त पुरै खाली पनि देखिन्थे। होस्टेलमा अलि राम्रो कोठा चाहियो भने वार्डेनलाई घुस दिनुपर्थ्यो। वा केही काम लगाउनुपरेमा एक बोतल भोड्का ठिक्क पार्नुपर्थ्यो।
पाउरोटी बरु ३-५ कोपेक्स जस्तो सस्तो दाममै आउँथ्यो। र पनि भान्सा घर नजिकै त्यही पाउरोटी फालिएको डुंगुर देखिन्थ्यो। म मनमनै सोच्थे, "मान्छेलाई सस्तो र सित्तैमा खान-लाउन दिँदा यस्तै हुन्छ।" मानव मनोविज्ञान नै यस्तै छ— निःशुल्क वा सस्तोमा पाएको चीजको त मूल्याङ्कन नै गरिँदैन।
यो सबै देखेर बुबालाई मैले पत्रमा लेखेको थिए, “यदि समाजवाद यस्तै नै हो भने, न त मलाई समाजवाद मन पर्छ, न त मलाई समाजवाद नै चाहिन्छ।” बुबा जायज व्यक्ति, मेरा विचारहरूलाई कहिल्यै सिधै अस्वीकृत गर्नु हुँदैनथ्यो। उहाँ मेरा फरक विचार र अनुभवलाई ध्यानपूर्वक सुनेर बुझ्ने प्रयास गर्नुहुन्थ्यो।
~~~
अब धर्म को बारेमा कुरा गरौ। न्यायपूर्ण समाजको बारेमा कुरा हुँदा उहाँ बारम्बार धर्मको विषयमा फर्कनुहुन्थ्यो। उहाँको धर्म को विश्लेषणले यस विषयमा उहाँको गहिरो अध्ययन र सोचलाई देखाउँछ।
युगौँ देखि चलि आएको ब्राह्मणवाद, धार्मिक कट्टरपन्थ, कर्मकाण्डवाद र धर्मको नाममा अन्धविश्वास फैल्यार जनता माथि गरिने शोषणको भने उहाँ कडा आलोचना गर्नुहुन्थ्यो।
तर यी नै धर्मका प्रतीकहरू: भगवान शिव, कृष्ण वा बुद्धको भने कहिल्यै आलोचना गर्नुभएन। बरु वेद, उपनिषद्, गीता र बौद्ध धर्मको गहन अध्ययनमा उहाँले समाजवादको जरा फेला पार्नु भयो।
“समाजवाद कुनै नयाँ विचार होइन,” भन्दै उहाँ संस्कृतमा उद्धरण गर्नुहुन्थ्यो:
“ॐ। सह नाववतु।
सह नौ भुनक्तु।
सह वीर्यं करवावहै।
तेजस्वि नावधीतमस्तु।
मा विद्विषावहै।
ॐ शान्तिः शान्तिः शान्तिः॥”
~ तैत्तिरीयोपनिषद्
भन्नाले - "हामी सबैको रक्षा होस्। हामी सबैलाई भोजन, ज्ञान र ऊर्जा को प्राप्ति होस्। हामी मिलेर परिश्रम गरौँ। मिलेर अध्ययन गरौ र तेजस्वी हौं। अनि कहिलै एक अर्काप्रति द्वेष नगरौँ।"
“गीतालाई बुझ्न त्यति सरल छैन।” उहाँ भन्नुहुन्थ्यो
“मैले कयौँ यस्ता व्यक्ति देखेको छु जो गीतालाई पहिल्याउने प्रयासमा पागल नै भएका छन्।”
“गीतामा जब कृष्णले ‘म’ भन्नुहुन्छ—उहाँले त्यो ‘म’ मा सारा मानव जातिलाई समेट्नु हुन्छ।
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥”
~ भगवद् गीता (४.७ )
“अर्थात्, जब जब धर्मको नास हुन्छ र अधर्मको वृद्धि हुन्छ, तब तब धर्मको रक्षा गर्न र अधर्मको नाश गर्न, र धर्म पुनः स्थापना गर्न म स्वयम् प्रकट हुनेछु।”
त्यस्तैः
“समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रिय: |
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ||”
~ भगवद् गीता (४.२७)
“अर्थात्, म न त कसैप्रति द्वेष गर्दछु न कसैको पक्ष लिन्छु। सबै प्राणी मेरा लागी समान छन् ।”
“शिवलाई नै हेरन। देवता र असुरमा भेद नगरी, सारा जगत् कल्याणको लागी उनले विष नै निले।”
कर्मप्रति विश्वास - अनि नैतिकता र सदाचारको नीतिको महत्व माथि सधैँ जोर दिनुभयो। एक पटक एउटा पसलेले मलाई १० रुपैयाँ बढी फिर्ता दिँदा आफूलाई खुबै भाग्यमानी ठानी रहेको थिए। त्यो खुसी बुबालाई सुनाए। तर उहाँले मलाई त्यो पैसा पसलेलाई नै फिर्ता गर्न लगाउनुभयो। त्यो मेरा लागी इमानदारिताको एउटा पाठ थियो— आफूले कमाएको बाहेक अरूको एक पैसा पनि कहिल्यै नलिनु।
एक चोटी बुबाले हामीलाई माधव राज जोशीको जीवनको एक रोचक र रहस्यमय प्रसङ्ग सुनाउनु भएको याद आउंछ। माधव राज जोशी - शहीद शुक्रराज शास्त्रीका पिता। वहाँले सन् १८९६ मा नेपालमा आर्य समाजको स्थापना गर्नु भएको थियो। त्यस बखतका विद्वान र समाज सुधारक उनी पण्डितहरूलाई भने खासै रुचाउँदैनथे। त्यसैले, त्यसै समयका दरबारका केही पण्डितहरूले मिलेर उनलाई शास्त्रार्थको बहसमा बोलाएर हराउने र बेइजति गर्ने साजिस गरे । उनी पनि विद्वान न परे, पण्डितहरूले उनलाई हराउन सकेनन्। पण्डितहरूले अब बदला स्वरूप उनले राणा शासकको अपमान गरेको आरोप लगाएर उनलाई पक्राउ गराए। तर अहम्तामा मग्न ती पण्डितको हबिगत के भयो भन्नुहुन्छ भने, भाग्यले ति पाँचैका लागी अचम्मको खेल खेल्यो। भनिन्छ - कोही बाटो-नाकामा बहुलाएर, “माधव राज नै सही थिए” भन्दै चिच्याउँदै कराउँदै भौँतारीरहेको देखिन्थे। एक जना खोलामा नुहाउन गएका - कहिल्यै फर्केर आएनन्। बाँकी अरु पण्डितहरू पनि त्यस्तै त्यस्तै असामान्य घटनाका पात्र बन्न पुगे। यसबाट लिन सकिने एउटै पाठ भनेको कसैको कुभलो नचिताउनु भन्ने हो। नत्र कर्मले त्यसको पैँचो अवश्य तिराउनेछ।
~~~
संसार मा विद्वान त धेरै छन। तर हरेक व्यक्तिसँग उनीहरूकै स्तरमा रहेर संवाद गर्न सक्ने छ्मता कमै मा हुन्छ। उहाँमा त्यो विशेष गुण थियो। दर्शनशास्त्र, मार्क्सवाद र द्वन्द्वात्मक भौतिकवादजस्ता जटिल सिद्धान्तहरूलाई पनि उहाँ साधारण दृष्टान्तहरू दिएर सरल भाषामा बुझाउने गर्नुहुन्थ्यो। मेरो विचारमा, सबै महापुरुषहरूमा यो गुण अनिवार्य हुने गर्छ। उहाँको यो गुणको म निकै कदर गर्थे।
सबेरै उठेर बुबा लामो मोर्निंग वाकमा जानु हुन्थ्यो। अहिले म पनि त्यहि गर्छु। कहिलेकाहीँ उहाँ ध्यान पनि गर्ने गर्नुहुन्थ्यो। मैले पनि ध्यान गर्न थालेको धेरै भयो।
“ध्यान गर्न बस्यो कि निन्द्रा लागेर आउँछ।”, बुबाले आमालाई भन्नुभएको याद आउंछ। आजकल त्यो कुरा सम्झेर म मुस्कुराउने गर्छु। आज, धेरै नभएपनि ध्यानबारे आफुलाई केहि त थाहा भएको जस्तो लाग्छ। “बुबालाई ध्यानमा केहि मद्दत गर्न पाएको भए हुन्थ्यो” भन्ने मनमा आभास हुन्छ। केही नभए पनि ध्यान गर्ने क्रममा आउने पाँच बाधाहरू मध्ये एक — निद्रा र थकानलाई कसरी हटाउने भन्ने त सिकाउन सक्थेँ कि जस्तो लाग्छ।
परिश्रमी, एकाग्रता, र निरन्तरता - बुबाका यी गुणहरू पनि मेरा लागी अति नै सराहनीय छन्। सधैँ सबेरै ४ बजे नै उठेर उहाँ लेख्न बसेको मैले स्वयम् देखेको छु।
“यो दिमाग हतियार जस्तै हो, जति चलायो, उति धारिलो।” उहाँ भन्ने गर्नुहुन्थ्यो।
कहिलेकाहीँ म गणितको कुनै समस्यामा अल्झेको देख्दा बुबा मलाई नेपोलियनको उदाहरण दिनुहुन्थ्यो। नेपोलियन आफ्नो हिसाबको हल ननिस्केसम्म तीन-तीन दिनसम्म पनि कोठा बाहिरे निस्किँदैनथे रे।
“त्यसैले, कुनै पनि वस्तुको अध्ययन गर्दा एकै पटकमा बुझिएन भने कहिल्यै हार नमान्नु। बरु तीन चोटि दोहोऱ्याउनु। फेरी पनि बुझिएन भने पाँच चोटि दोहोऱ्याउनु। त्यसपछि त कसो नबुझिएला।”
हरेक छोराले आफ्ना बुबालाई आदर्श मान्ने गर्छ र आफ्नो पिताको सर-सल्लाह, विचार र धारणाको ठुलो मान गर्ने गर्छ। धेरै पहिले मैले एउटा कथा लेखेको थिए। त्यो मैले उहाँलाई पनि देखाएँ। बुबाले पनि मेरो रचनालाई मन पराइ दिनुभयो। किन होला, अब दुनियाँले त्यो कथा मन पराओस् या नपराओस्, मलाई कुनै फरक परेन। किनकि बुबाले मन पराइ दिनुभएकोमा मलाई निकै गर्व र सन्तोष थियो। आखिर पिताको मत किन यति महत्त्वपूर्ण हुन्छ?
~~~
अब मैले आफ्नो भविष्यको बारेमा ठोस निर्णय लिनुपर्ने समय आइसकेको थियो। मनमा त बुबालाई सहयोग गर्नका लागी केही गर्न पाएँ झैँ लागिरहन्थ्यो; तर बुबाको जस्तो मेरो मन राजनीतिप्रति थिएन। सायद मेरो मनको कुरा बुबाले चाल पाइसक्नु भएको थियो। आफू मात्र हैन, आफ्नो पुरै परिवारकै बलिदानको माग गर्ने राजनैतिक मार्ग कहाँ सजिलो हुन्छ र? अनि फेरी उहाँ आफूले पाएको दुःख हामीले पनि भोग्नुपरोस् भन्ने चाहनु हुँदैनथ्यो।
त्याग र तपस्या के हो? कसको लागि? पाउन सकिने नाम, धन र सम्पत्ति कसले छोडेर अर्को बाटो लाग्न सक्छ? त्याग को कुरा त सबले गर्छन। तर साँच्चै नै त्यो परिस्थिति आउंदा कति जना आफ्नो अडानमा अटल रहन सक्छन? धेरै कम। मलाई लाग्छ मेरो बुबाले यसको परीक्षा जीवन मा धेरै चोटी दिनु भयो, पटक पटक दिनु भयो।
त्यति बेलाको नेपालमा स्नातक तह हाँसील गर्ने पाँच जनामध्ये बुबा एक हुनुहुन्थ्यो। हो, पुरै नेपालमा। त्यति बेलाको नेपालको एक मात्र बैङ्क नेपाल बैंकमा वहाँले काम सुरु गर्नु भएको थियो। त्यसैलाई निरन्तरता दिनुभएको भए महाप्रबन्धक पदमा नियुक्ति पाउने पक्कापक्की नै थियो। महाप्रबन्धक भएर आराम को जिन्दगी बिताउन सक्नु हुन्थ्यो। तर भाग्यको खेल अर्कै रहेछ। उहाँले राजनीतिलाई नै रोज्नुभयो।
त्यस्तै भारतमा निर्वासनमा रहँदा र आर्थिक रूपमा सङ्घर्ष गरिरहेकै बेला, त्यति बेलाका राजाले उहाँलाई देश फर्केर राज्य व्यवस्थाको हिस्सा बन्न आग्रह पनि गर्नुभएको थियो। आफ्नो मात्रै स्वार्थ पूर्ति को त यो सुनौलो अवसर थियो। तर, त्यो प्रस्तावलाई पनि बुबाले अस्वीकार गर्नुभयो।
यसरी ऐस र आरामको जीवन रोज्ने कयौँ मौकाले ढोका ढकढक्याउदा पनि बुबाले आफ्नै बाटोमा लागिरहनुभयो। अटल। अडिग।
कुनै एक दिन उहाँले मेरो नजिकै आएर भन्नुभएको थियो, “तिमीले भविष्यको लागी जुनसुकै बाटो रोजे पनि त्यसैबाट देश र जनताका हितमा काम गर्न सक्छौँ।” बुबाको यति इसारा मेरा लागी काफी थियो। मैले इन्जिनियर बन्ने निर्णय गरेँ।
~~~
“उहाँले विरासतमा के छोडेर जानुभयो त?” भनेर मानिसहरूलाई सोध्ने मन हुन्छ। अरु तिर औँला ठड्याएर कुरा गर्न सबैलै खुब मन पर्छ - र त्यो जस्तो सजिलो अरू केही काम पनि त छैन। तर मेरो बुबाले जे गर्नुभयो, आफ्नो कर्तव्य पुरा गर्नुभयो। म भन्छु - यस्ता प्रश्न उठाउनेहरूले आफैँलाई प्रश्न गर्नुपर्छ — मैले चैँ देशको लागि के योगदान पुर्याए त? यदि मलाई सोध्नुहुन्छ भने, उहाँको इमानदारिता र नैतिकता नै उहाँको विरासत हो। हाम्रो देशका सबै जनताहरूप्रति उहाँको साँचो प्रेम, सदभाव र सहानुभूति गर्न सक्ने क्षमता नै उहाँको विरासत हो। नेपालप्रतिको उहाँको अटुट प्रेम र सच्चा देशभक्ति नै उहाँको विरासत हो। लोभ-लालचले नडगमगाएको उहाँको आदर्श नै उहाँको विरासत हो।
~~~
अब यो लेखनको शीर्षक "फादर्स एण्ड सन्स (बुबाहरू र छोराहरू)" नै किन रहन गयो भनेर सोचिरहनुभएको छ भने, म भन्छु यो म र मेरो बुबाको बारेको मात्रै कथा होइन। यो त हामी सबैको नाता र सम्बन्धहरु को कथा हो। हाम्रो जीवनका नाताहरु बिचको माया र द्वन्द्वहरूको कथा हो।
यो लेख्न सुरु गर्दा संयोगले टुर्गेनेभको उपन्यास "फादर्स एण्ड सन्स" ले झट्ट स्मृतिमा दीप जगायो। त्यस उपन्यासमा टुर्गेनेभले पुस्तागत द्वन्द्वलाई कस्तो प्रभावकारी रूपमा चित्रण गर्नु भएको छ।
हामी सबैले आफ्ना बुबाहरूबाट केही न केही सिकेकै हुन्छौँ। केही केहि कुरा हामी सजिलै स्वीकारछौँ, त केही अस्वीकार पनि गर्छौँ। विचारहरूमा विवाद भए तापनि त्यहाँ प्रेम पनि हुन्छ। हो कहिले काँही आपसमा गलतफहमिहरू पनि हुन सक्छन, तर पनि उत्तिकै सम्मान पनि हुन्छ। बाटो पनि फरक-फरक रोजिन्छ। र पनि थाहै नपाई हृदयको मूलदेखि नै हाम्रो आचरणलाई पिताको प्रभावले छोइसकेको हुन्छ। मेरा यी विचारहरू कहाँबाट आए त? म यसरी किन सोचिरहेछु? कहिले काँही हामीलाई अच्चम लाग्न सक्छ। सुरुमा भने झैँ मानव मन रहस्यपूर्ण छ।
चाणक्यको जीवनमा आधारित एक शृङ्खलामा एउटा निकै मार्मिक दृश्य छ, जुन मलाई अझै पनि स्पष्ट याद छ। यस शृङ्खलाको धेरै कुरा अहिले बिर्से, तर यो एउटा क्षण भने आँखा अगाडी झल्-झलि आइराख्छ। जब चाणक्य धेरै वर्षपछि आफ्नो घर फर्किन्छन्, त्यो भत्कियो झोपडी मा एक छिन रोकिएर उनी आफ्नो बाबु चानकले भनेको कुरा सम्झन्छन्:
“सूर्य नभए पनि दियो बन्ने त अवश्य प्रयास गर्नु।”
मेरो बुबाले पनि मेरा लागी शायद त्यही इच्छा राख्नुभएको थियो होला। र अहिले आएर म पनि मेरा छोरा छोरीको लागि त्यही नै चाहान्छु: “सूर्य नभए पनि दियो बन्ने त अवश्य प्रयास गर्नु। आफूभित्रको अन्धकारलाई हटाइ, सबै तिर उज्यालो छर्ने प्रकाश बन्ने सक्दो प्रयास गर्नु, अनि अरूलाई पनि त्यस्तै बन्न मद्दत गर्नु।
शायद यहि नै जीवन को सार हो।